
सत्तारुढ नेपाली कांग्रेस पाकिस्तानविरुद्ध भारतीय सैन्य कारवाहीको पक्षमा खुलेको छ ।
आज बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले आतंकवादविरुद्धको लडाइँमा भारतलाई साथ दिनुपर्ने निचोड निकालेको हो । प्रवक्ता डा. प्रकाशशरण महतले आतंकवादीहरुको नौ अड्डामा भारतको सैन्य कारवाहीलाई पार्टीले ‘जायज’ ठानेको बताए ।बैठकका छलफलबारे जानकारी दिदैँ सञ्चारकर्मीसँग भने, ‘आतंकवादविरुद्ध हुने कारवाहीलाई जायज ठान्छौ, आतंकवादीको कुनै नाम, जात, धर्म, ठेगाना हुँदैन । आतंकवादलाई कसैले प्रश्रय नदियोस् भन्ने चाहन्छौँ ।’
बैठकमा दुई छिमेकी देशबीचको तनावपूर्ण सम्बन्धले नेपाललाई पर्नसक्ने असरबारे पनि छलफल भएको महतले जानकारी दिए । ‘सीमा सुरक्षाको कुराहरुमा सरकारको ध्यानाकर्षण गराउने विषयमा छलफल भएको छ, पाकिस्तानको तर्फबाट पनि जवाफी आक्रमण भएको छ, अझै हुन सक्छन्, यो फुल स्केल युद्ध नहोस् भन्ने पक्षमा छौँ’, उनले थपे ।
सभापति शेरबहादुर देउवाले समसामायिक घटनाक्रमबारे बैठकलाई संक्षेपमा ब्रिफिङ गरेका थिए । गठबन्धनमा कुनै समस्या नरहेको प्रष्ट्याउँदै उनले राष्ट्र बैंकको गभर्नर नियुक्तिको विवादबारे पनि धारणा राखेको प्रवक्ता महतले जानकारी दिए ।
‘सभापतिज्यूले गभर्नर नियुक्ति ढिला भएकोमा गम्भीर चिन्ता र चासो प्रकट गर्नुभयो, सहमति गरेर टुंगो लगाउने भन्नुभयो, उक्त पद सक्षम र व्यावसायिक व्यक्तिको हातमा पुग्नुपर्ने उहाँ (देउवा)को विचार छ’, उनले भने ।
भारतको पक्षमा खुल्यो कांग्रेस