२८ बैशाख २०८२, आइतबार

कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर

काठमाडौं- शिरमा ढाका टोपी, निलो सुट र घाँटीमा भवानी माध्यमिक विद्यालयको टाइ । गोरखाको पालुङटार नगरपालिका–६ का ६८ वर्षीय लालबहादुर विक अमरज्योति जनता मावि लुइँटेल परीक्षा केन्द्रमा पुग्दा सुरुमा कतिपय झुक्किए, शिक्षक हुन् कि परीक्षार्थी भनेर ।

तर उनी हाल सञ्चालन भइरहेको कक्षा १२ को परीक्षार्थी हुन्। यहाँस्थित भवानी माविबाट शिक्षा सङ्कायमा अध्ययनरत उनी हाल अमरज्योति जनता मावि परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका छन् ।

कक्षा ११ को वार्षिक परीक्षामा उत्कृष्ट १० परीक्षार्थी भित्र परेका विकलाई कक्षा १२ पनि सजिलै उत्तीर्ण गर्छु भन्ने आत्मविश्वास छ । “अंग्रजी विषयमा चाहिँ एक दुई वटा वटा प्रश्नका उत्तर लेख्न सकिनँ, तर फेलै चाहिँ भइन्न होला”, उनले भने, “अब बाँकी विषय त सजिलै छन् । आफ्नै शैलीमा लेख्न सक्छु ।”

उनी २०५५ सालमा नेपाल प्रहरीको सहायक निरीक्षकबाट सेवानिवृत्त भएका हुन् । कक्षा ७ पढ्दापढ्दै २०३५ सालमा प्रहरीमा भर्ती भएका उनले २०४२ सालमा तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित रामशाह माविबाट ‘प्राइभेट’तर्फ एसएलसी दिएका थिए। “त्यतिबेला प्राइभेट टेस्ट दिन पाइन्थ्यो ।

टेस्टमा पास गर्यो भने जति कक्षा पढेकाले पनि एसएलसी दिन पाउँथे । मैले पनि त्यसरी नै टेस्ट दिएर एसएलसी दिएको हो”, उनले भने। तर त्यतिबेला जागिर खाँदै पढ्ने कुरा सजिलो थिएन । एसएलसी दिने बेला पनि ‘सिनियर कमान्डर’हरूले नपढोस् भनेर धेरै काम लगाउने गरेको उनी सुनाउछन्।

“दलितको छोरो पढेर हामीभन्दा ठूलो हुने भयो भनेर सिनियरहरूले खुबै पेल्थे । तर जसोतसो एसएलसी दिएँ । तेस्रो श्रेणीमा उत्तीर्ण पनि भएँ”, उनले भने, ‘पहिला गाउँकै स्कुल पढ्न पनि पैसा लाग्थ्यो । हामी चार भाई, एक बहिनी थियौँ । आर्थिक अभावका कारण पढाइ छोड्नु पर्यो । तर, मनबाट शिक्षाको भोक हराएन ।”

उनी पढाइलाई निरन्तरता दिन चाहन्थे। तर, घर व्यवहार र आर्थिक अभावका कारण निरन्तरता दिन सकेका थिएनन् । “छोराछोरी जन्मिसकेका थिए । आफ्नो रहरमात्र हेरेर भएन । घर व्यवहार पनि चलाउनु पर्यो”, विगत सम्झँदै विकले भने, “पेन्सन आएपछि पनि पढ्ने अनुकूलता मिलेन । अहिले छोराछोरीहरू सबै हुर्किए । बिहेबारी भइसक्यो । अब पढ्नलाई सहज छ । त्यसैले फेरि कक्षा ११ मा भर्ना गरेर पढ्न थालेको हुँ ।” कक्षा १२ पछि स्नातकमा कानुन विषय लिएर पढ्ने इच्छा उनको छ ।

“पहिलेदेखि कानुन पढ्न मन थियो । अब कक्षा १२ पास गरेपछि कानुन पढ्छु । मलाई कानुन पढेर जागिर गरौँला भन्ने छैन । ढिलै भए पनि यति कक्षासम्म पढेको छु भनेर गर्व गर्न पाइयोस् ।”

चार छोरा, एक छोरी र श्रीमतीसहितका परिवार भएका विकका छोराहरु वैदेशिक रोजगारीमा छन् । उनीहरुले पनि बुवालाई पढ्न प्रोत्साहन गर्नुका साथै सहयोग गरेको विक बताउछन् । ढल्कँदो उमेरमा पनि शिक्षाप्रति उनको मोह देखेर विद्यालयका शिक्षकहरुले ‘पढ्नलाई उमेरले छेक्दैन’ भन्ने भनाइ पुष्टि भएको बताउने गरेका छन् ।

यस वर्ष गोरखाबाट तीन हजार ७५० जना विद्यार्थीहरूले सहभागिता जनाएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ गोरखाका अनुसार यो वर्ष नियमिततर्फ दुई हजार चारसय ७६ र ग्रेड वृद्धितर्फ एक हजार २५० जना परीक्षार्थीहरू कक्षा १२ को परीक्षामा सहभागी छन् ।

परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]