११ जेठ २०८२, शनिबार

इन्दुको कप्तानी प्रदर्शन

इन्दु बर्माको कप्तानी इनिङ्समा नेपालले आईसीसी वुमन्स टी२० विश्वकप एसिया छनोटको सुपर थ्री मा युएईलाई ५ विकेटले हराउँदै ग्लोबल क्वालिफायरमा स्थान बनाएको छ ।

काठमाडौं । युएई विरुद्ध इन्दु वर्माले विजयी रन प्रहार गरेपछि डगआउटबाट सबै खेलाडीहरुसहित अफिसियलहरु दौडेर मैदानको बिचमा रहेको क्रिजमा पुगे ।

सबैले इन्दुलाई बधाई दिन थाले । केहीले इन्दुले बोकेर खुशी मनाए । कमेन्टेटरहरुले पनि इन्दुले सिंगल ह्यान्डेडली खेल जिताएको भन्दै प्रशंसा गरिरहेका थिए ।

युएईविरुद्धको यो जित नेपाली महिला क्रिकेटका लागि महत्वपूर्ण जित रह्यो । किनभने नेपालले महिला टी२० विश्वकपमा पहिलो पटक ग्लोबल क्वालिफायरमा स्थान बनाउँदै अहिलेसमम्को ठूलो उपलब्धि हासिल गरेको हो ।

विश्वकप खेल्ने लक्ष्य राखेपनि नेपाली महिला क्रिकेट टिम अहिलेसम्म एसियाबाटै अघि बढ्न सकेको थिएन । तर यस पटक भने थाइल्याण्डसँगै नेपालले पनि एसिया छनोटबाट ग्लोबल क्वालिफायरमा स्थान बनायो ।

कप्तान इन्दुले पनि पोष्ट म्याचमा नेपालको लागि यो ऐतिहासिक उपलब्धी भएको प्रतिक्रिया दिइन् । ‘यो हाम्रो महिला क्रिकेटमा ऐतिहासिक क्षण हो । सबैको मेहेनतको प्रतिफल हो’ उनले भनिन् ।
एसिया छनोटको सुपर थ्री को अन्तिम खेलमा नेपालले सोमबार थाइल्याण्डसँग खेल्दैछ । उक्त खेल जितेमा नेपाल एसिया छनोटको विजेता नै बन्नेछ ।

युएई विरुद्ध जितको चर्चा भविष्यमा पनि भइरहनेछ । अनि त्यसमा निर्णायक प्रदर्शन गर्दै कप्तानी इनिङ्स खेलेकी इन्दु बर्माको चर्चा नहुने कुरै भएन ।

वास्तवमै निर्णायक खेलमा उनले चाहिएको जस्तै प्रदर्शन गर्दै नेपाललाई जित सम्म पुर्‍याइन् । २७ वर्षीय इन्दुले टी२० अन्तर्राष्ट्रिय क्रिकेट करियरमा एक अर्धशतक बनाएकी छिन् । तर उनले करियरमा यो इनिङ्स सबैभन्दा महत्वपूर्ण मध्ये रहनेछ । अझ यो यस्तो समयमा आएको थियो त्यसलाई हेर्दा सबैभन्दा महत्वपूर्ण इनिङ्स नै मान्न सकिनेछ ।

उनै इन्दु बर्माको कप्तानी इनिङ्समा नेपालले आईसीसी वुमन्स टी२० विश्वकप एसिया छनोटको सुपर थ्री मा युएईलाई ५ विकेटले हराउँदै ग्लोबल क्वालिफायरमा स्थान बनाएको छ । नेपाली महिला क्रिकेटले इतिहास रच्दै पहिलो पटक महिला विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाएको हो ।

थाइल्याण्डको बैंककमा भएको खेलमा नेपाललाई जित दिलाउन कप्तान इन्दुले अविजित ३० रन बनाएपछि युएईले दिएको ११५ रनको लक्ष्य नेपालले ३ बल अगावै ५ विकेट गुमाएर भेट्टायो ।

चौथो क्रममा ब्याटिङमा आएकी इन्दुले २८ बल खेल्दै २ चौका मदतमा ३० रन जोडेकी हुन् । उनले नेपालको जितमा विजयी रन समेत जोडिन् ।

इन्दुले चौथो विकेटका लागि उपकप्तान पुजा महतोसँग २४ रनको साझेदारी गरिन् भने पाँचौं विकेटका लागि पूर्व कप्तान रुबिना क्षेत्रीसँग ३७ रनको महत्वपूर्ण साझेदारी गरिन् । यो दुई साझेदारीले नेपालको जितको आधार तय गरेको थियो ।

१८औं ओभरको पाँचौ बलमा रुबिना आउट हुँदा नेपालको स्कोर ९९-५ थियो । नेपाललाई जितका लागि अन्तिम १३ बलमा १६ रन आवश्यक थियो । यस्तोमा इन्दुले छैटौं विकेटका लागि रुवि पोदारसँग अविजित १६ रनको साझेदारी गरिन् ।

नेपाललाई अन्तिम २ ओभरमा जितका लागि १४ रन आवश्यक थियो । यस्तोमा कप्तान इन्दुले नेपालको इनिङ्सलाई सम्हाल्दै अघि बढाइन् । १९औं ओभरको पाँचौ बलमा इन्दुले चौका प्रहार गरेपछि नेपालले उक्त ओभरमा १० रन जोड्दै जितलाई नजिक बनाएको थियो ।

अन्तिम ओभरमा स्ट्राइकमा रहेकी रुवि पोदारले पहिलो बलमा सिंगल लिँदै इन्दुलाई स्ट्राइक दिइन् । इन्दुले दोस्रो बलमा दुई रन लिएपछि स्कोर बराबर भयो । त्यसपछि तेस्रो बलमा इन्दुको सटले बाउण्ड्री लाइन पार गरेको थियो तर उनले त्यसअघि नै सिंगल लिँदै नेपालको जित निश्चित गरेकी थिइन् ।

इन्दुले अन्तिसम्म दबाबलाई झेल्दै जितसम्म पुगेको बताइन् । ‘यो एकदम नर्भस खालको खेल थियो, अन्त्यमा हामीले प्रेसर ह्यान्डल गर्न सक्यौं र जित निकाल्न सक्यौं’ उनले भनिन् ।

इन्दुले युएई विरुद्ध मात्र होइन समूह चरणमा बहराइन विरुद्ध ‘मस्ट विन’ म्याचमा पनि कप्तानी इनिङ्स खेलेकी थिइन् । जहाँ उनले अविजित २४ रन बनाउँदै नेपाललाई जिताएकी थिइन् ।

बहराइनले १२.२ ओभरमा ७६/३ रन बनाएपनि वर्षाका कारण नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य पाएको थियो । त्यस खेलमा नेपाललाई जितका लागि अन्तिम १८ बलमा ३२ रन आवश्यक थियो र नेपाललाई कठिन भइरहेको थियो । यस्तोमा इन्दुले एकल प्रयासमा म्याच जिताएकी थिइन् ।

उनले चौथो ओभरमा लगातार तीन चौका सहित १३ रन प्रहार गरेपछि नेपालले एकै ओभरमा १६ रन बनाएको थियो । यस्तै अर्को ओभरमा इन्दुले एक चौका र एक छक्का प्रहार गर्दै १० रन बनाएपछि नेपालले जित हात पारेको थियो ।

यस पटक छनोटमा नेपालले खेलेको सबै चार खेलमा इन्दु नटआउट समेत रहिन् । हङकङ विरुद्धको पहिलो खेलमा वर्षाका कारण रद्ध हुँदा नेपालले अंक बाँडेको थियो ।

समूह चरणमा बहराइन विरुद्ध ५ ओभरमा छोट्याइएको पहिलो खेलमा इन्दु ७ रनमा अविजित रहिन् । यस्तै हङकङ विरुद्ध ५ ओभरमा छोट्याइएको खेलमा पहिले ब्याटिङ गर्दा उनले अविजित ९ रन बनाएकी थिइन् ।

जारी छनोटमा कप्तान इन्दु नेपालबाट सर्वाधिक रन बनाउने खेलाडी समेत हुन् । उनले चार खेलमा ७० रन बनाएकी छिन् । समग्रमा उनी सर्वाधिक रन जोड्नेमा चौथो स्थानमा छिन् । युएईकी कप्तान इशा ओजाले एक शतकसहित सर्वाधिक १७५ रन बनाउँदा युएईकै तीर्था सतिशले एक अर्धशतकसहित १०६ रन बनाएकी छन् ।

थाइल्याण्डकी नानापात कोन्चारोनकाईले ७२ रन बनाएकी छिन् । नेपालले अन्तिम खेल थाइल्याण्ड विरुद्ध नै खेल्दैछ र इन्दुलाई यो आँकडामा अझै सुधार गर्ने मौका छ ।

इन्दु २०८० साल कात्तिकमा सिनियर टिमको कप्तान नियुक्त भएकी थिइन् । त्यसयता उनको कप्तानीमा नेपालले एसिया कप देखि बाइलाटरल, ट्राई सिरिज र क्वाड्रगुलर सिरिज समेत खेलिसकेको छ ।

तर उनै इन्दुको कप्तानीमा नेपालले टी२० विश्वकप एसिया छनोट पार गर्दै ग्लोबल क्वालिफायरमा स्थान बनाउनु कप्तान इन्दु र नेपाली महिला क्रिकेटकै लागि अर्को कोशेढुंगा हो ।

इन्दुले नेपालका लागि ७२ टी२०आई खेल खेल्दै एक अर्धशतक मद्दतमा ९१७ रन बनाएकी छिन् भने ४० विकेट पनि लिएकी छन् । यसै छनोट प्रतियोगितामा रुबिनालाई पछि पार्दै नेपालका लागि सर्वाधिक टी२०आई रन बनाउनेमा दोस्रो स्थानमा उक्लेकी इन्दु सीता राना मगर भन्दा मात्र पछि छन् ।

एसिया छनोट खेल्न जानुअघि कप्तान इन्दुले अनलाइनखबरसँगको कुराकानीमा यस पटक छनोटको संरचना फरक हुँदा हरेक खेल महत्वपूर्ण हुने बताएकी थिइन् र एसिया छनोट पार गर्दै ग्लोबल क्वालिफायर पुग्ने र विश्वकपमा स्थान बनाउने अन्तिम लक्ष्य सुनाएकी थिइन् ।

अब नेपालले विश्वकपको लागि अन्तिम चरणको छनोट खेल्नेछ र त्यो चरण पनि पार गरेमा विश्वकप पुग्दै इतिहास रच्नेछ । त्यसका लागि कप्तान इन्दु नेतृत्वको टिमले अझै धेरै महिनेत गर्नुपर्ने छ ।

इन्दु बर्मा नेपाली महिला क्रीकेटर
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]