
रौतहट । खडेरीको सामना गरिरहेको मधेस प्रदेशको रौतहटमा अहिले बोरिङबाट पनि पानी आउन छाडेको किसानहरूले बताएका छन् । रोपाइँका लागि आकाशे वर्षाको भरमा रहने मधेसका किसानहरू अहिले खडेरी परेपछि व्याकुल भएका छन् ।
खेतका गराहरू चिरा परेका छन्, जसले उनीहरूको मनमा पनि गहिरो चिरा पारिदिएको छ । खेती किसानीलाई नै प्रमुख आयको स्रोत मानिरहेका यहाँका किसान पानीको अभावका कारण चिन्तित छन् ।
पानीको लागि घरमा भएका भाडाहरु बोकेर मानिसहरू यता उता भौँतारिरहेका छन् । अघिल्लो वर्ष पनि वर्षा ढिलो गरी सुरु भएको थियो । यो वर्ष त झन् मध्य मनसुनमा नै पानी पर्दिएन ।
बोरिङको भरमा बसेका कैयन किसान अहिले पानी नभेटाउँदा तनावमा रहेको रौतहटका एक किसान भूषण प्रसाद साहले बताए ।
सुख्खा ग्रस्त क्षेत्रको रूपमा घोषणा गरिएको मधेस प्रदेशको स्थलगत भ्रमणमा शुक्रवार गएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल समस्या समाधान गर्नको लागि ५ सय डिप बोरिङ जडान गर्ने घोषणा गरेका थिए । प्रधानमन्त्रीको घोषणा सुनेका साह भने सरकारले घोषणा मात्रै होइन कार्यान्वयन गर्न तर्फ अघि बढ्नु पर्नेमा जोड दिन्छन् ।
“सरकारले घोषणा त गर्यो, तर यसको काम पनि घोषणा जसरी नै गरिदिए हुन्थ्यो । हाम्रो अवस्था ठिक छैन । हाम्रो अपिल यही नै छ सरकारले आफ्नो योजना छिट्टै कार्यान्वयन गरिदियोस्,” उनले भने ।
महोत्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एउटा डिप बोरिङबाट ६० बिघा क्षेत्रफल सिँचाइ गर्न सकिने बताएका थिए । नेपालको अन्नको भण्डारको रूपमा तराई(मधेसलाई चिन्ने गरिएको भए पनि यहाँको खेती सबै आकाशे पानीको भरमा निर्भर रहेको छ ।
नेपालको आर्थिक सर्वेक्षण २०८१–८२ अनुसार फागुन २०८१ सम्म कुल सिँचाइयोग्य जमिन २५ लाख ३६ हजार ३ सय १९ हेक्टरमध्ये ६२।२८ प्रतिशतमा मात्र सिँचाइ सुविधा विस्तार भएको छ । बाह्रै महिना सिँचाइ सुविधा पुगेको जमिन करिब २० प्रतिशत मात्रै छ ।