
राजविराज, साउन १३ । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा जलवायु परिवर्तन अनुकूलन तथा उत्तरदायी योजना र बजेटिङ्ग सम्बन्धी चारदिने तालिम बुधबार सम्पन्न भएको छ।
गाउँपालिकाको समन्वयमा ग्रामीणमुखी युवा अभियान नेपालद्वारा आयोजित उक्त तालिम AEIN लक्जेमवर्गको आर्थिक सहयोगमा संचालन गरिएको हो। तालिम आइतबारदेखि सुरु भई बुधबारसम्म चार दिनसम्म संचालन गरिएको थियो। तालिममा गाउँपालिकाका कार्यपालिका सदस्यहरू, आठवटै वडाका वडाध्यक्षहरू, विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नियमित प्रमुख प्रशासकीय अधिकृत दीपक मण्डलको समेत सक्रिय सहभागिता रहेको कार्यक्रमलाई औपचारिक रूपमा सञ्चालन गरिएको थियो।
तालिममा जलवायु परिवर्तनसम्बन्धी प्रशिक्षक राम गरुङ र रुपेन्द्र बस्नेतले सहभागीहरूलाई जलवायु परिवर्तनको प्रभाव, जोखिम न्यूनीकरणका उपाय, वातावरणीय अनुकूलन रणनीति तथा उत्तरदायी योजना निर्माण प्रक्रियाका बारेमा विस्तृत जानकारी दिएका थिए।
उनीहरूले स्थानीय तहमा वातावरणमैत्री नीति निर्माण र कार्यक्रम सञ्चालनको महत्वमाथि जोड दिएका थिए। यस्तै, जिल्ला परियोजना संयोजक ओमप्रकाश चौधरीले पालिकाभित्रका सबै वडाहरूमा देखिएका जलवायु सम्बन्धी समस्या, चुनौती र सम्भावित समाधानका उपायहरू प्रस्तुत गर्दै सहभागीहरूसँग समूहगत छलफल र अभ्यास गराएका थिए।
उनले जलवायु परिवर्तनका असरहरू न्यूनीकरण गर्न समुदायस्तरमा आधारित योजना निर्माण गर्न र त्यसका लागि स्थानीय तहले आफ्नै बजेटबाट कार्यक्रम सञ्चालन गर्नु अपरिहार्य भएको धारणा राखे। प्रशिक्षणको क्रममा सहभागीहरूले वडास्तरमा लागू गर्न सकिने जलवायु अनुकूलन योजना निर्माण अभ्यास समेत गरेका थिए। तालिमको अन्त्यमा सहभागीहरूले प्राप्त ज्ञानलाई आगामी योजनामा व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरे। तालिमले स्थानीय सरकार तथा जनप्रतिनिधिहरूलाई जलवायु विषयमा नीति निर्माण, योजना तर्जुमा तथा बजेट व्यवस्थापनमा ज्ञान र क्षमता अभिवृद्धि गर्न ठूलो टेवा पुगेको आयोजक संस्थाले जनाएकोछ ।