
हनुमाननगर । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा न.४ का स्थानीयवासीले बिहीबार पुनः वडा कार्यालयमा तालाबन्दी गरेका छन्। वडाअध्यक्ष मौली मण्डलको ‘स्वेच्छाचारी कार्यशैली’ र अनियमितताका आरोपसहित यसअघि साउन १८ गते लगाइएको तालाबन्दी तोडिएपछि फेरि तालाबन्द गरिएको छ ।
स्थानीयवासीका अनुसार, स्थानीय तह गठन हुनुभन्दा पहिले सबैको सहयोगमा आपतकालीन अवस्थाका लागि राखिएको ठुलो होमपाइप वडा बाहिर लगिएको, विकास योजनामा गुपचुप उपभोक्ता समिति बनाएर कमिसन लिएको र गुणस्तरहीन काम गराएको जस्ता गुनासोहरू पटक–पटक राखिए पनि सम्बोधन नभएपछि आन्दोलन चर्किएको छ।
गत साउन १२ गते तीनवटै बुँदामा मागसहित ज्ञापनपत्र बुझाए पनि बेवास्ता गरिँदा, जबरजस्ती तालाको तोडफोड गरिएको र नगरप्रमुख वीरेन्द्र माझीलाई समेत जानकारी दिइए पनि कुनै पहल नहुँदा स्थानीय पुनः आन्दोलनमा उत्रिएको निर्वतमान वडा अध्यक्ष नागेश्वर मण्डलले बताए।
यता स्थानीयवासीले अब माग पूरा नभएसम्म तालाबन्दी र विरोध कार्यक्रम निरन्तर गर्ने चेतावनी दिएका छन्।