
जनकपुरधाम, धनुषा — जनमत पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा सांस्कृतिक जनमत संघका केन्द्रीय अध्यक्ष सन्तोष राज सहनी र उनकी श्रीमती सेलिना कुँवरले एकैदिन पाँच वटा विकास योजनाको संयुक्त रुपमा शिलान्यास गरेका छन्।
धनुषा जिल्लाको कमला नगरपालिका–२ स्थित सराबे टोलमा शहरी विकास मन्त्रालयबाट प्राप्त ४० लाख रुपैयाँ बजेटबाट निर्माण हुने पाँच वटा पीसीसी ढलान सडक योजनाको शिलान्यास गरिएको हो।
सोमबार सराबे टोलका विभिन्न गल्लीहरूमा ती योजनाको शिलान्यास सम्पन्न गरिएको हो। सहनीकी श्रीमती सेलिना कुँवर स्वयं जनमत पार्टीकी केन्द्रीय सदस्य तथा सांस्कृतिक जनमत संघकी उपाध्यक्ष समेत हुन्।
सहनीले कमला नगरपालिका–२ अन्तर्गतका विभिन्न टोलहरूमा योजनाहरू ल्याएको जानकारी दिएका छन्। उनका अनुसार सराबे र तेलियाहा क्षेत्रमा योजनाहरू सञ्चालनमा छन्। उनले चालु आर्थिक वर्षमा करिब १ करोड रुपैयाँ बराबरको बजेट विभिन्न योजना मार्फत ल्याइएको बताए।