
सुनसरी जिल्लाको विभिन्न स्थानबाट भारतबाट अवैध रूपमा भन्सार छली गरेर नेपालतर्फ ल्याएको १७ लाख भन्दा बढीको समान सशस्त्र प्रहरीले बरामद गरेका छन्।
जिल्लाको गढी गाउँपालिका २ स्थित औरावनीमा सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे.क्वा. सुनसरीबाट सशस्त्र प्रहरी निरीक्षक अच्युत सुवेदीको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले आज बिहान ७ बजेको समयमा भारतबाट नेपालतर्फ भन्सार छली गरेर ल्याउदै गरेको ९ लाख २४ हजार १ सय बराबरको लत्ताकपडा र जुत्तासहित ४ लाख ७० हजार मूल्य बराबरका तीनवटा मोटरसाइकल सशस्त्र प्रहरीले बरामद गरेका छन्।
यसैगरी बिहान साढे ७ बजे इनरुवा नगरपालिका ४ हनुमान चोकस्थित पूर्व–पश्चिम लोकमार्गमा सशस्त्र प्रहरी निरीक्षक अमृत कुमार बिकको नेतृत्वमा खटिएको ७ जनाको गस्ती टोलीले ५७ हजार ७ सय ५ मुल्य बराबरका किराना सामान नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरीक्षक अमृत कुमार बिकले बताए।
साथै बुधबार साँझ साढे ७ बजे दुहबी नगरपालिका–११ स्थित नहर छेउमा सशस्त्र प्रहरी निरीक्षक कबिर मल्लको कमाण्डमा खटिएको मोटरसाइकल गस्ती टोलीले भारतबाट मोटरसाइकलमा लोड गरी ल्याएको २ लाख ९९ हजार बराबरको कुर्ता सुरुवालसहित नियन्त्रणमा लिएको हो। बरामद गरिएका सामानहरू आवश्यक कानुनी कारवाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्धमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हे.क्वा. सुनसरीका गणपति प्रहरी उपरीक्षक निर्मल कुमार थापाका जानकारी दिनु भयो एसपी थापाका अनुसार खुला सीमाका कारण भन्सार छलिका गतिविधि बढीरहेको हुनाले कडा निगरानी बढाइएको छ।
कोशी प्रदेश सुनसरी