२७ साउन २०८२, मंगलबार

१९ दिनदेखि अखिल क्रान्तिकारी ढोकामा, त्रिवि उपकुलपति अर्याल कार्यालय छिर्नै पाएनन्

शुल्क नघटाए आमरण अनशनमा बस्ने क्रान्तिकारीको चेतावनी अखिल क्रान्तिकारीले शुल्क नै घटाउनु पर्ने अडान राखेको छ । शुल्कको विषयमा अध्ययन गरी क्रान्तिकारीसँग वार्ता गर्न कमिटी बनाइएको छ ।

२६ साउन, काठमाडौं । प्राध्यापक डा.दीपक अर्याल त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएको ३३ दिन भयो तर कार्यकक्षमा १० दिनभन्दा बढी बस्न पाएका छैनन् ।

माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी उपकुलपति अर्यालको कार्यकक्ष अगाडि ढोकामा रिले अनशनमा बसेको छ । रिले अनशनमा बसेको आज १९ दिन भयो । जसका कारण उपकुलपति अर्याल कार्यकक्षमा जान नपाएका हुन् ।

‘विद्यार्थी नेताहरू ढोकामा धर्नामा बस्नु भएको छ । सुरुको केही दिन भीसी सर आउनु भएको थियो । पछि कोठामा छिर्ने ढोकामै धर्ना दिएपछि आउनु भएको छैन,’ उपकुलपति कार्यालयका एक कर्मचारीले भने ।

ती अधिकारीका अनुसार उपकुलपति अर्याल बिहानै त्रिवि परिसर पुग्छन् । तर बाहिरै बसेर काम गरिरहेका छन् । ‘बिहान ७ बजे भीसी सर आउनु हुन्छ । विश्वविद्यालय परिसरको अरु कार्यालयमा बसेर काम गरिरहनु भएको छ,’ ती कर्मचारीले भने ।

यद्यपि, अखिल क्रान्तिकारीले उपकुलपति अर्याललाई कार्यकक्ष प्रवेशमा अवरोध भने नगरेको जनाएको छ । ‘हामीले कुनै अवरोध गरेका छैनौं । २४ घण्टे रिले अनशनमा बसेका छौँ,’ अखिल क्रान्तिकारी त्रिविका कार्यवहाक अध्यक्ष शिवराज भट्टले भने । प्रवेशमा अवरोध नगरेपनि क्रान्तिकारी ढोकामै बसेका कारण उपकुलपति अर्याल कार्यकक्षमा नगएका हुन् ।

के हो अखिल क्रान्तिकारीको माग ?

केन्द्रीय विभागमा गाभिएको कार्यक्रमको शुल्क घटाउनु पर्ने माग राखेर क्रान्तिकारी धर्नामा बसेको हो । ‘चार वटा सेल्फ सस्टेन कार्यक्रमलाई केन्द्रीय विभागमा गाभेर पनि शुल्क घटाइएको छैन,’ उनले भने ।

अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, सामाजिक कार्य, लैङ्गिकता सम्बन्धी अध्ययन कार्यक्रमलाई ९ महिना अघि केन्द्रीय विभागमा गाभिएको थियो । तर शुल्क भने पुरानै शैलीमा उठाएकाले घटाउनु पर्ने माग अखिल क्रान्तिकारीको हो ।

‘पहिले प्राइभेट प्रोग्राम थियो । ९ महिना अघि केन्द्रीय विभागमा ल्याइयो । तर शुल्क भने पुरानै जसरी उठाइएको छ । केन्द्रीय विभागमा आएपछि शुल्क घटाउन माग गरेका हौँ,’ भट्टले भने ।


आन्दोलनरत विद्यार्थी संगठनले शिक्षक कर्मचारी र भौतिक संरचनाको व्यवस्थापन गर्न माग गरेको छ । ‘शिक्षक कर्मचारीको व्यवस्थापन भएको छैन । त्रिविबाट सहयोग भएन,’ उनले भने । उपकुलपति अर्याल भने सहमतिको प्रयास भइरहेको बताउँछन् ।

‘विद्यार्थीहरूसँग एक दुई चरण वार्ता भएको छ । भौतिक संरचना बनाउन तत्काल ५० लाख निकासा गर्ने भनेको छ । समावेशी आधारमा छात्रवृत्ति प्रवन्ध गर्न तयार छौं,’ उपकुलपति अर्यालले भने ।

अखिल क्रान्तिकारीले भने शुल्क नै घटाउनु पर्ने अडान राखेको छ । शुल्कको विषयमा अध्ययन गरी क्रान्तिकारीसँग वार्ता गर्न कमिटी बनाइएको छ ।

वार्ता समिति गठन

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनलयका निर्देशक पशुपति अधिकारीको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ ।

उक्त समितिले क्रान्तिकारीसँग शुल्क घटाउने विषयमा वार्ता गरिरहेको छ । वार्ता समितिले विद्यार्थी संगठनसँग शुक्रबार एक चरणको छलफल गरेको थियो । तर निष्कर्ष निस्कन सकेन ।

आज फेरि छलफलमा बस्ने तय भएको छ । ‘शुक्रबार तीन चार घण्टा बस्यौं । सहमति हुन सकेन । आज साँझ ५ बजे वार्तामा बस्ने तय भएको छ । सहमतिको प्रयास भइरहेको छ,’ वार्ता समितिका संयोजक अधिकारीले भने ।

आमरण अनशनको चेतावनी

अखिल क्रान्तिकारीले अबको वार्तामा सहमति नभए आमरण अनशन बस्ने चेतावनी दिएको छ । ‘स्ववियुको चुनावमा पनि हामीले शुल्क घटाउन पहल गर्ने बाचा गरेका थियौं । मुख्य मुद्दा नै शुल्क घटाउनु पर्छ भन्ने हो ।

शुल्क नघटे अब आमरण अनशनमा बस्छौं,’ भट्टले भने । विद्यार्थीको शुल्कबाट नै चल्ने कार्यक्रम भएकाले विद्यार्थी संगठनले भनेजसरी शुल्क घटाउन नसकिने तर्क विश्वविद्यालय प्रशासनको छ ।

‘पहिले प्राइभेट प्रोग्राम थियो । केन्द्रीय विभागमा ल्याएपछि त शुल्क घट्नु पर्‍यो नि । विभागमा आएपछि सबै व्यवस्थापन त्रिविले गर्ने हो । व्यवस्थापन नगर्ने हो भने विभाग अन्तर्गत किन ल्याएको ?,’ भट्टले प्रश्न गरे ।

अखिल क्रान्तिकारी
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]