
डा.सीके राउत अध्यक्ष रहेको जनमत पार्टीभित्र एकपछि अर्को कण्ड बाहिरिइरहेको छ । पार्टीको नाममा आएका रकम शीर्ष नेताहरूले हिनामिना गरेको समाचार त यसअघि नै आइसकेको छ । यस्तैमा अहिले पार्टीभित्र घरको विषयलाई लिएर विवाद चर्किन थालेको छ ।
काठमाडौँ तथा जनकपुरमा पार्टीको नाममा खरिद गरिएको घर व्यक्तिको नाम रहेको र नामसारी नगरेको भन्दै अध्यक्ष राउतले पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई सोही मुद्दामा थुनामा पठाए ।
तर काठमाडौँको उक्त घर राउतले ललिता यादवसँग भाडामा लिएको खुलेको छ । ललिता निलम्बनमा परेका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवकी श्रीमती हुन् ।
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ४ मा रहेको उक्त घर २०८० फागुन १ गतेदेखि २०८५ चैतसम्म राउतले भाडामा लिए थिए । मासिक २५ हजार रुपैयाँको दरले उनले त्यो घर भाडामा लिएका सम्झौताबाट खुलेको हो ।
त्यही घर आफ्नो नाममा नामसारी गर्न भनेपछि पार्टीमा लफडा भित्रिएको हो । कोषाध्यक्ष यादवले घर किन्न आफ्नो मात्र रकम लागेको बताएका थिए । उक्त घर उचित मूल्य पाए पार्टीका नाममा नामसारी गरिदिने भन्दै आएका थिए ।
तर अध्यक्ष राउतले उक्त घर कुन्दन सिंहका नाममा नामसारी गर्न खोजेपछि लफडा भएको हो । घरबहाल सम्झौताअनुसार घरधनीको रूपमा ललिताकुमारी यादव र बहालबालाको नाम चन्द्रकान्त राउत अर्थात सीके राउतले हस्ताक्षर गरेका छन् ।
भाडामा लिएदेखि नै राउत त्यस घरमा बस्दै आएका थिए । श्रीमतीसँग विवाद भएपछि भने उनी त्यो घर छाडेर एक अपार्टमेन्टमा बसिरहेका छन् । उनको श्रीमती सोनी सिन्धु हालसम्म त्यही घरमा छिन् ।
त्यो घर नामसारी गर्न राउतले आफूलाई पटक–पटक दबाव दिँदै आएको कोषाध्यक्ष यादवले बताए । ‘कहिले कसको त कहिले कसको नाममा नामसारी गर्न दबाव दिँदै आइरहेका थिए,’ उनले भने, ‘कुनै व्यक्तिको नाममा कुनै पनि हालतमा नामसारी नगर्ने अडान लिएपछि प्रहरीमा ठगी जालासाजी गरेर मलाई थुन्न लगाए,’ उनले भने ।
उनका अनुसार उक्त घर बैंकबाट ऋण लिएर खरिद गरिएको हो । कोषाध्यक्ष यादवले रकम माग्न थालेपछि अध्यक्ष राउतले विभिन्न व्यक्तिका नाममा यादवको खातामा रकम जम्मा गर्दै आएका थिए ।
अध्यक्ष राउतले एकातिर बैंकको किस्ता तिरिरहेका थिए भने अर्कातिर यादवमाथि मुद्दा पनि चलाएका थिए । जसका कारण विवाद बढ्दै गइरह्यो ।
उक्त घर भाडाकै रूपमा जनमत पार्टीले प्रयोग गर्दै आएको महालक्ष्मी वडा नम्बर ४ का वडाअध्यक्ष अमृत खत्रीले पनि प्रमाणित गरेका छन् । खत्रीले गत भदौ ७ गते दिएको बसोबास सिफारिसपत्रमा भनिएको छ, ‘सप्तरी जिल्ला महदेव गाउँपालिका वडा नम्बर २ घर भई साविक इमाडोल गाविस हाल महालक्ष्मी नगरपालिका वडा नम्बर ४ बस्ने चन्द्रकान्त राउतले यस कार्यालयमा दिनुभएको निवेदनअनुसार हाल महालक्ष्मी नगरपालिका वडा नम्बर ४ साविक इमाडोल गाविस ८ कि.नं. ९४३ जम्मा क्षेत्रफल १४३.१२ वर्गमिटर क्षेत्रफलमा बनेको ललिता कुमारी यादवको घरमा निज चन्द्रकान्त राउत (सिके राउत)अस्थायी रूपमा बस्दै आउनुभएको व्यहोरा प्रमाणित गरिन्छ ।’
उक्त घर नामसारीका लागि ललिताकुमारी फकाउन राउतले उनलाई मधेश प्रदेशको नीति तथा योजना आयोगको सदस्यमा समेत नियुक्त गरेका थिए । यसरी नियुक्त गरेपछि राउतले पटक–पटक ललितालाई घर नामसारी गर्न दबाब दिँदै आएका थिए ।
तर नामसारी गर्न तयार नभएपछि अध्यक्ष राउतले पार्टीबाट जिल्ला प्रहरी कार्यालय ललितपुरमा ललिताविरुद्ध उजुरीसमेत दिन लगाएका थिए ।
अध्यक्ष राउतले पार्टी कार्यालय बनाउन सर्वसधारणबाट पनि रकम उठाएको पाइएको छ । ‘पार्टीको स्थायी भवन संरचनाका लागि अक्षय कोष स्थापना गर्ने निर्णय गरेकाले सोबमोजिम पार्टीको निम्न बैंक खातामा सहयोग राशि जम्मा गर्नुहुन पार्टीभित्र वा बाहिरका सम्पूर्ण दाताहरूसँग विनम्र अनुरोध गर्दछौँ’ २०८० साउन ४ गते जनमतका प्रवक्ता डा.शरद सिंह यादवले सार्वजनिक गरेका अपिलमा भनिएको छ ।
उक्त अक्षकोषको पैसा ‘मल्टीपल हल’ र पार्किङ सुविधासहित पार्टी कार्यालयको स्थायी भवन संरचना प्रयोजनका लागि मात्रै प्रयोग गर्ने भनिएको थियो । राष्ट्रिय वाणिज्य बैंकमा रहेको पार्टीको खाता नम्बर पनि सार्वजनिक गरिएको थियो ।
तर उक्त भवन निर्माणका लागि सो खातामा कति पैसा आयो, त्यो पैसा कहाँ गयो त्यसको कुनै हिसाबकिताब सार्वजनिक गरिएको छैन ।
ललिताको नाममा २०८० जेठमा खरिद गरिएको उक्त घरमा पार्टी कार्यालय भवनका लागि साउनमा अक्षयकोष स्थापना गर्न भन्दै सहयोगको अपिल गरिएको थियो ।