
सप्तरी। भारत–पाकिस्तानबीचको कूटनीतिक तनावको पृष्ठभूमिमा सप्तरीमा विदेशी नागरिकहरूको गतिविधिले चर्चा पाइरहेको छ। सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–३ स्थित रहमानीया जामे मस्जिदमा ६ जना बंगलादेशी नागरिक धार्मिक भ्रमणमा रहेको खुलासा भएको छ।
उनीहरू बंगलादेशको ढाकाबाट चार महिनाको धार्मिक यात्रामा निस्किएर काठमाडौं, मोरङ र सुनसरी हुँदै सप्तरी आइपुगेका हुन्। मुस्लिम धार्मिक प्रचार अभियान अन्तर्गत ‘जमात’का रूपमा यात्रामा रहेको उनीहरूले मस्जिदमा केही दिन विताइरहेको स्थानीय स्रोतले जनाएको छ।
बंगलादेशी नागरिकहरू अराइभल भिसामा नेपाल आएका थिए। प्रारम्भिक जानकारी अनुसार उनीहरूको भिसाको अवधि गत मार्चमा सकिएको थियो। तर त्यसपछि बिराटनगरस्थित अध्यागमन कार्यालयबाट उनीहरूको भिसा २०२५ जुनसम्मका लागि थपिएको पुष्टि भएको छ।
मस्जिदका सचिव सरिफ रहमानले उनीहरू विगतका वर्षहरूझैँ नियमित कार्यक्रमअनुसार नेपाल भ्रमणमा आएको स्पष्ट पारे। “धार्मिक अभ्यास र प्रचारको कार्यक्रमअनुसार आएका हुन्, यसमा कुनै संकास्पद कुरा छैन,” रहमानले बताए।
यता, पछिल्लो समय तराई–मधेसका विभिन्न जिल्लामा धार्मिक परिवर्तनका गतिविधिहरू तीव्र रूपमा देखिन थालेका छन्। कतिपय विश्लेषकहरू यसप्रति राज्यको नियन्त्रण कमजोर रहेको भन्दै चिन्ता व्यक्त गर्छन्। यस्ता विदेशी धार्मिक समूहहरूको गतिविधि निगरानीमा राखिनुपर्ने आवाज पनि उठ्न थालेको छ।
प्रशासनले भने घटनाबारे अध्ययन भइरहेको बताएको छ। स्थानीय सुरक्षानीतिहरूलाई कडाइका साथ पालना गराउन र विदेशी नागरिकहरूको आवतजावतमा निगरानी बढाउन आवश्यक देखिएको छ।