
नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले एउटा कर्मचारीलाई अख्तियारले बोलायो भन्दैमा गृहमन्त्रीको राजीनामा मागेर संसद अबरुद्ध गर्नु लोकतन्त्रविरुद्ध भएको बताउनुभएको छ । बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक घिमिरेले अख्तियारले कर्मचारीलाई किन बोलायो भन्नेसम्म पनि ज्ञात नभएको अवस्थामा गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको बताउनुभएको हो ।
उहाँले पुष्पकमल दाहाल नेतृत्वको सरकारका मुख्यसचिवमाथि अनुसन्धान र निलम्वन गर्दा दाहालले राजीनामा दिनुभएको थियो भन्दै प्रश्न गर्नुभयो । बोलाइएका कर्मचारीलाई न थुनामा राखेको न कुनै मुद्दा अभियोजन गरेको न त बयान लिएको भन्दै यत्तिकैमा गृहमन्त्रीको राजीनामा माग्नु सरकारलाई असफल पार्ने षडयन्त्र भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘गृहमन्त्रीको राजीनमा नआएसम्म संसद चल्न सक्दैन भनेर उहाँहरुको एकोहोरो ढिपी रह्यो । हामीले के भन्यौं भने जब कसैमाथि प्रश्न उठ्छ भने प्रश्नको बारेमा जवाफ दिन सफाई दिन जतिसुकै अपराधी भएपनि पाउँछ । त्यसमाथि पनि गृहमन्त्री खासमा प्रश्न पनि उठेको छैन अहिलेसम्म । न कुनै इन्स्टिट्युसनले प्रश्न उठाएको छ । अहिले एउटा कर्मचारीलाई अख्तियारले बोलायो, त्यो पनि किन बोलायो भन्ने पनि थाहा छैन ।
न हिरासतमा राखेको छ, किन बोलाएको भनेर अख्तियारले प्रष्ट्याएको छ । र, १० दिनपछि फेरि आउनुस् भनेर पठाएको छ । त्यो अवस्थामा गृहमन्त्रीको एक्कासी राजीनामा मागेर संसद अबरुद्ध गर्ने काम जुन ढंगले भइरहेको छ । यो विल्कुलै संसदीय अभ्यासको खिलाफमा छ ।
यो संसदीय लोकतन्त्रकै खिलाफमा छ भन्ने हाम्रो बुझाइ छ । अब बजेटमा उहाँहरुले अबरुद्ध गर्नुहुन्छ कि गर्नुहुन्न यो सवैधानिक प्रक्रिया हो । जेठ १५ गते बजेट आउनै पर्छ । यो बजेटलाई अबरुद्ध गरेर उहाँहरु संविधानको खिलाफ जानुहुन्छ कि जानुहुन्न त्यो पनि हामीलाई हेर्नुछ ।
त्यो हेरेपछिमात्र हामी नयाँ निर्णयमा पुग्छौं । स्मरणमात्र गराउन चाहन्छु माननीय पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा अख्तियारले मुख्यसचिवमाथि नै अनुसन्धान गर्यो । निलम्बन पनि गर्यो त्यतिखेर उहाँले राजिनामा दिनुभयो ? थुप्रै कर्मचारीहरुमाथि कुनै न कुनै कारबाहीहरु भैरहेका छन् अहिलेसम्म त्यस्ता कारणहरुबाट कुन मन्त्रीले राजीनमा दिएको छ ? अहिले चाहिँ अख्तियारले बोलाएर सोध्यो, त्यो पनि अख्तियारले प्रष्ट्याएको छैन कि के सोध्यो, न थुनामा राखेको छ न कुनै मुद्दा अभियोजन गरेको छ ।
न बयान लिएको छ । यत्तिकैमा गृहमन्त्रीको राजीनामा माग्नु निःसन्देह कुनै न कुनै षडयन्त्र भएको छ । षडयन्त्रमूलक ढंगले गृहमन्त्रीमात्र होइन सरकारलाई नै असफल पार्ने षड्यन्त्रको कडी हो भन्ने हामीले बुझेका छौं । साँच्चै कुरा गर्नुहुन्छ भने यो गृहमन्त्रीले बोल्नुपर्ने कुरा होइन ।
कर्मचारीहरुमाथि कारबाही नियमित रुपमा भैरहेको छ र अनुसन्धान पनि भैरहेको छ । अख्तियारले अनुसन्धानको प्रक्रियामा कसैलाई राख्यो लियो भन्दैमा मन्त्रीले राजीनमा गर्न थाल्ने हो र मन्त्रीले जवाफ दिने हो भने हरेक दिन जवाफमात्र दिइरहनुपर्छ । यो सिधै प्रतिपक्षको अर्घल्याई हो । र उहाँहरुले निहुँ खोज्नेकुरामात्र हो भन्ने हाम्रो बुझाई हो । उहाँले अख्तियारले अनुसन्धानको प्रक्रियामा कसैलाई सोधपुछ गर्दैमा मन्त्रीले राजीनामा र जवाफ दिने हो भने हरेक दिन जवाफमात्र दिइरहनुपर्ने अवस्था रहने स्पष्ट पार्नुभयो ।
गृहमन्त्रीको राजीनामा