
राजविराज। तिलाठी कोईलाडी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि करिब ४४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। शुक्रबार सम्पन्न १२औं गाउँ सभामा प्रस्तुत बजेटमा सामाजिक समावेशीता, कृषिमा नवप्रवर्तन, विपद् न्यूनीकरण तथा शिक्षा र संस्कृतिको संरक्षणमा प्राथमिकता दिइएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार कर्णका अनुसार कुल ४३ करोड ८४ लाख १९ हजार रुपैयाँको बजेटमध्ये ३२ करोड ८८ लाख १५ हजार चालु खर्चतर्फ र १० करोड ९६ लाख ४ हजार पूँजीगत खर्चतर्फ विनियोजन गरिएको छ।
राजस्व स्रोततर्फ सङ्घीय सरकारबाट वित्तीय समानीकरणमार्फत १० करोड ६७ लाख, सशर्त अनुदानमार्फत १९ करोड १० लाख र राजस्व बाँडफाँडबाट ८ करोड ९० लाख ७९ हजार ३६८ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। प्रदेश सरकारबाट समेत वित्तीय तथा विशेष अनुदानसहित २ लाख ५५ हजार रुपैयाँ प्राप्त हुनेछ। गाउँपालिकाको आन्तरिक आम्दानी भने २ करोड ६१ लाख ४० हजार रुपैयाँ हुने अनुमान गरिएको छ।
गाउँपालिकाले लैङ्गिक समानता र सामाजिक समावेशीता परीक्षण (जेसी अडिट) सुरु गर्ने, बालमैत्री तथा बाल श्रममुक्त पालिका घोषणाका लागि कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ। कृषिमा नवप्रवर्तनका लागि सहकारीमार्फत ५० प्रतिशत निर्ब्याजी ऋण, गहुँ, धान र स्प्रेयरमा अनुदान, तथा कृषि विद्युतीकरणमा विशेष जोड दिइएको छ।
शिक्षाको पहुँच अभिवृद्धिका लागि दलित, गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था, शिक्षक तथा कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम, र पत्रकारिता क्षेत्र तथा मैथिली भाषा-संस्कृतिको प्रवर्द्धनमा पनि कार्यक्रम समावेश गरिएको छ।
अपाङ्गता भएका व्यक्तिहरूका लागि संरचना अनुकूल बनाउने र विपदको जोखिम न्यूनीकरणमा विशेष ध्यान दिइएको छ। जलवायु परिवर्तनसँग जुझ्न युवालाई परिचालन गर्ने, स्थानीय पाठ्यक्रममार्फत विपद शिक्षा लागू गर्ने जस्ता कार्यक्रम पनि बजेटमा समावेश छन्।
कार्यक्रमका दौरान योजना शाखा प्रमुख राजुकुमार झा, कृषि शाखा प्रमुख उदयकान्त झा, पशु शाखा प्रमुख बद्रीनारायण मण्डल, लगायत कर्मचारीहरूलाई कदर पत्र तथा गम्छाले सम्मान गरिएको थियो। गाउँसभा गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार कर्णले स्वागत मन्तव्य राखेका थिए। संचालन विपद् व्यवस्थापन अधिकृत राजेश कुमार झाले गर्नुभएको थियो।
जिल्ला समन्वय समिति प्रमुख शिवनारायण साह, विभिन्न वडाका अध्यक्षहरूसहित जनप्रतिनिधिहरूले शुभकामना मन्तव्य राखेका थिए।
तिलाठी कोईलाडी गाउँपालिका