Blurkart

२३ भाद्र २०८२, सोमबार

ओझेलमा छ सुन्दरताले भरिपूर्ण दिज गाउँ

९ भदौ, ढोरपाटन (बागलुङ) । वरिपरि घना जङ्गल । छेउमै सुसाउने उत्तरगङ्गा नदी । नदी किनारमा छ दिज गाउँ । काठै काठले सजाइएका घर र गाउँले जनजीवन । यही दृश्यले आकर्षित गरिरहेको छ आगन्तुकलाई ।

जोडिएर बनेका काठका मौलिक घर र स्थानीयको रहनसहन अझ चाखलाग्दो छ । ढोरपाटन उपत्यकाभन्दा केही पर रहेको दिज गाउँ पर्यटनको सम्भावना भए पनि बत्ति मुनीको अँध्यारो बनेको छ ।

गाउँको मौलिक संस्कृति, भेषभूषा र रहनसहनले यहाँ पुग्ने पर्यटकलाई लोभ्याउने गर्छ । तर, विकास र प्रचारप्रसार अभावमा यो गाउँ ओझेलमै छ । ढोरपाटन नगरपालिका–९ स्थित दिज गाउँ प्राकृतिक सुन्दरताले भरिएको छ । ढोरपाटन–निसेलढोर सडक खण्डको पारी पट्टी रहेको दिज गाउँमा विस्तारै विकासले गति लिन थालेको छ । तर प्रचारप्रसार कत्ति पनि हुन सकेको छैन । प्रकृति र मौलिकतासँग साइनो गाँस्न चाहनेका लागि त योभन्दा अरु गन्तव्य बिरलै छन् ।

गाउँको मौलिकता र सुन्दरतालाई बाहिर प्रचार गर्न नसक्दा आगन्तुक दिज गाउँ पुग्न नसकेको ढोरपाटन नगरपालिका–९ का अध्यक्ष खिमबहादुर घर्ती मगरले बताए । लामो समयसम्म स्वास्थ्य, शिक्षा, खानेपानी र विद्युत्लगायतका पूर्वाधार नजोडिएको यस गाउँमा स्थानीय सरकार आएपछि विस्तारै विकास हुन थालेको उनको भनाइ छ ।

दिजलाई पर्यटकीय गाउँ बनाउनका लागि नगरपालिकाले नीति बनाएर काम सुरु गरेको अध्यक्ष घर्ती मगर बताउँछन् । ‘यो पर्यटनका लागि भर्जिन गाउँ हो, पर्यटकसँग जोड्न नगरपालिकाले नीति बनाउँदै छ, गाउँलाई घरबास (होमस्टे)का रूपमा विकास गर्ने र स्थानीयलाई आय आर्जनसँग जोड्ने प्रयास गरिरहेका छौं,’ अध्यक्ष घर्तीमगरले भने, ‘स्थानीय उत्पादनलाई बढाउने र बजारीकरणलाई ध्यान दिएका छौँ ।’

दिज गाउँमा अहिलेसम्म सडक पुगेको छैन । स्थानीयले बजारबाट बोकेरै उपभोग्य सामान ढुवानी गर्नुपर्ने बाध्यता छ । ढोरपाटन सिकार आरक्षले अवरोध गर्दा गाउँमा सडक नजोडिएको स्थानीय बताउँछन् । यो गाउँमा अहिलेसम्म काठैकाठका बाहेक अन्य वस्तुले बनेका घर छैनन् । विस्तारै विकासले गति लिन थालेको स्थानीय मनबहादुर घर्तीले बताए । पहिलेदेखिनै समय–समयमा फाट्टफुट्ट पर्यटक आउने गरे पनि धेरै सङ्ख्यामा भित्र्याउन नसकेको उनको भनाइ छ ।

यस क्षेत्रमा हिउँदको बेला बढी चिसो हुने हुँदा बर्खाको समयमा पर्यटक आउने गर्छन् । पछिल्लो समय निसेलढोर जाने पर्यटक दिज गाउँ पस्ने गरेका छन् । गर्मी छल्न ढोरपाटन आउने पर्यटक घुम्दैफिर्दै दिज गाउँ आउने गरेका छन् । गाउँमा आइपुग्न उत्तरगङ्गा नदीमा काठे साँघु बनाइएको छ । यो पुल हेर्नका लागि पनि पर्यटक दिज आउने गर्छन् । गाउँ निकै सुन्दर भए पनि बास बस्न व्यवस्थित ठाउँ नहुँदा ढोरपाटनमै आउनु परेको भैरहवादेखि आउनुभएका कुशलराज बेलवासेले बताए ।

‘हाम्रो नेपालमा पनि यति सुन्दर ठाउँ छन्, तर यी ठाउँमा अहिलेसम्म विकास नपुग्दा ओझेलमा परेका छन्, मलाइ त ढोरपाटनभन्दा दिज गाउँ धेरै राम्रो लाग्यो तर बस्नका लागि समस्या रैछ,’ उनले भने, ‘राज्यले सडकलगायत अन्य पूर्वाधार विकास गरेमा भविष्यमा पर्यटकीय सम्भावना छ, गाउँका नागरिकलाई शिक्षित र व्यावसायिक बनाउनु पर्ने जरुरी देखियो, यहाँ आउँदा साँच्चिकै गाउँघरमा आएको महशुस भयो ।’

बागलुङ
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]