
सप्तरी । रुपनी गाउँपालिकामा कार्यरत सब–इन्जिनियर रमेश कुमार यादवमाथि फर्जी कागजात प्रस्तुत गरी सरुवा भएको र हालसम्म तलब तथा सेवा सुविधा गैरकानुनी रूपमा लिएको आरोप लागेका छ।
उक्त कर्मचारीले शिक्षा तथा मानवस्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरको पत्र (च.न २२९, मिति २०७५/६/२६) को आधारमा बर्दिया जिल्लाबाट रुपनी गाउँपालिकामा करार पदमा नियुक्त भएको देखाएका थिए। तर, सरुवाको प्रक्रिया कानुनी प्रावधानअनुसार नभएकोले यसलाई गैरकानुनी र बदनियतपूर्ण देखिएको छ।
नेपालको संविधानको धारा ५७ र २१४ अनुसार स्थानीय तह कर्मचारी व्यवस्थापनमा स्वायत्त छन्, तर करार कर्मचारीको सरुवा सम्बन्धी स्पष्ट कानुन नभएकोले यसरी गरिएको सरुवा असंवैधानिक मानिन्छ।
यसबारे अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा उजुरी दर्ता भएको छ (दर्ता नं. C-071160), जसमा प्रारम्भिक छानबिन जारी रहेको छ। विज्ञहरूले यो कार्य स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत गैरकानुनी लाभ लिने अपराधको दायरामा पर्न सक्ने बताएका छन्।
रुपनी गाउँपालिका र सम्बन्धित निकायले आधिकारिक धारणा सार्वजनिक नगरेको भए पनि कानुनी रूपमा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनु पर्ने देखिन्छ।
फर्जी कागजात रुपनी गाउँपालिका