
२७ साउन, चितवन । चितवनमा सवारी चालकलाई गर्ने कारबाहीको संख्यामा कमी आएसँगै राजश्व संकलन पनि घटेको छ । तर ट्राफिक सचेतनाका कार्यक्रमहरू बढे पनि सवारी दुर्घटनामा भने कमी आएको छैन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ट्राफिक सचेतनाका कार्यक्रमहरू उल्लेख्य रुपमा बढ्दा कारबाहीको संख्या र राजश्व संकलन दुवै घटेको दाबी गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्रीराज शर्माका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/०८१ भन्दा गत आर्थिक वर्ष २०८१/०८२ मा १ करोडभन्दा बढी राजश्व कम संकलन भएको छ । गत आर्थिक वर्ष २३ हजार ४ सय १२ सवारी चालक कारबाहीमा परेको र जम्मा २ करोड १ लाख ३४ हजार मात्रै राजश्व संकलन भएको थियो । उनका अनुसार अघिल्लो आर्थिक वर्ष ४१ हजार ९९८ सवारी साधनका चालक कारबाहीमा पर्दा ३ करोड ७ लाख ६७ हजार ५ सय राजश्व संकलन भएको थियो । आर्थिक वर्ष २०७९/०८० मा मात्रै ३ करोड ४५ लाख ३८ हजार ५ सय राजश्व संकलन भएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख शर्माले ट्राफिक सचेतनाका कार्यक्रमहरू उल्लेख्य रुपमा बढ्दा कारबाहीको संख्या र राजश्व संकलन दुवै घटेको बताए ।
उनले गत आर्थिक वर्ष २६० प्रतिशतसम्म सचेतनाका कार्यक्रम बढाइएको बताए । त्यसबाट ट्राफिक नियम पालनाको दर ४५ प्रतिशत बढेको उनको दावी छ । ‘हामीलाई हरेक तालिममा वा निर्देशनमा राजश्व संकलनमा भन्दा पनि सवारी नियम कानुन कार्यान्वयन र सचेतनामा ध्यान दिन निर्देशन दिने गरिन्छ’ शर्माले भने, ‘सचेतना बढ्दा ट्राफिक नियम उल्लंघनका घटनामा कमी आउने नै भयो ।’
दुर्घटना संख्या बढ्यो, मृत्यु प्रतिशत घट्यो
शर्माले सचेतना बढाएको बताए पनि जिल्लामा हुने सवारी दुर्घटनाको संख्या भने बढेको पाइएको छ । दुर्घटनाको संख्या बढे पनि मृत्यु प्रतिशत भने अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ ।
गत आर्थिक वर्षमा सवारी दुर्घटनामा मानिसको मृत्यु ११.४२ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा २५.८५ प्रतिशत थियो ।
गत आर्थिक वर्षमा १ हजार ५० वटा साना ठूला सवारी दुर्घटना भएका थिए । यी दुर्घटनामा परेर १२० जनाको मृत्यु भएको र १७२ जना गम्भीर घाइते भएको तथ्यांक छ । यसैगरी १ हजार ७०५ जना सामान्य घाइते भएका छन् ।
अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा भने ४४५ सवारी दुर्घटनामा परेर ११५ जनाले ज्यान गुमाएका थिए । १५० जना गम्भीर घाइते र ६८२ जना सामान्य घाइते भएका थिए ।
आँपटारी र खैरहनीमा रिफ्रेस सेन्टर
दुर्घटना कम गराउन तथा चालकलाई सचेतना दिन जिल्लाका आँपटारी र खैरहनीमा रिफ्रेस सेन्टर स्थापना गरिएको छ । ई–चलानीमा तत्काल जरीवाना तिर्नु नपर्ने भएका कारणले कारबाहीमा परेका सवारी साधन र जरिवाना रकम आउन बाँकी रहेको ट्राफिक प्रहरी प्रमुख शर्माको भनाइ छ । उनका अनुसार ५० लाखभन्दा बढी रकम राजश्वमा आउन बाँकी छ ।
अघिल्ला वर्षमा ट्राफिकले आफूलाई लागे अनुसारको जरिवाना लिने गरेकोमा अघिल्लो आर्थिक वर्षदेखि सरकारले तोकिदिएको मापदण्डका आधारमा जरिवाना लिन थालिएको कारण पनि राजश्व घटेको ट्राफिक प्रहरीका अधिकारीहरुको भनाइ छ । ‘पहिलोपटक कारबाहीमा परेकोलाई ५ सय रूपैयाँ, दोस्रोपटक एक हजार र तेस्रोपटक १ हजार ५ सय रुपैयाँ लिने व्यवस्था छ, हामी चाहेर बढी लिन सक्दैनौं, तर पहिला–पहिला लिने चलन थियो’ ट्राफिक प्रमुख शर्माले भने, ‘अहिले सवारी साधान र लाइन्सेसका आधारमा कारबाही गरिन्छ, एउटै लाइन्सेस र एउटै सवारीले अर्कोपटक गल्ती गरेजरिवाना बढ्दै जान्छ, अनि राजश्व पनि बढ्छ, सवारी नवीकरण गर्ने बेलामा सिष्टममा देखिएपछि मात्रै राजश्व तिर्ने चलन पनि छ ।’
मापसे गरेर सवारी चलाउनेहरुको संख्या उस्तै
जिल्लामा मापसे गरेर सवारी चलाउनेहरूको संख्या भने उस्तै देखिएको छ । गत आर्थिक वर्षमा १ हजार २ सय जनाले मापसे गरेर चलाएको भेटिएपछि कारबाही गरेको ट्राफिक प्रहरी कार्यालयका अधिकारीहरुले जानकारी दिए । उनीहरुबाट ६ लाख ५० हजार राजश्व संकलन भएको छ ।
अघिल्लो वर्ष २०८०/८१ मा १ हजार २१९ जनाले मापसे गरेको र उनीहरुबाट १२ लाख १९ हजार राजश्व संकलन भएको तथ्यांक छ ।
आर्थिक वर्ष २०७९/८० मा ४६१ जनालाई मापसे कारबाही गर्दा ४ लाख ६१ हजार राजश्व संकलन भएको थियो छ । आर्थिक वर्ष २०७८/७९ मा ७३९ जना मापसेको कारबाहीमा परेका थिए ।
सबैभन्दा बढी दुर्घटना झम्के साँझमा
चितवन जिल्लामा सबैभन्दा बढी सवारी दुर्घटना साँझ ६ बजेदेखि राति १२ बजेको बीचमा हुने गरेको छ । प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार गत वर्ष साँझ ६ बजेदेखि राति १२ बजेसम्ममा ४१४ वटा सवारी दुर्घटना भएका छन् । यो समयमा मापसे गरेर सवारी चलाउने र सबै सडक प्रयोगकर्ताहरु गन्तव्यमा वा घर पुग्न हतार गर्दा दुर्घटना बढेको देखिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शर्माले बताए ।
प्रहरीले बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मलाई पहिलो समय खण्ड, दिउँसो १२ देखि साँझ ६ बजेसम्मलाई दोस्रो समय खण्ड, साँझ ६ बजेदेखि राति १२ बजेसम्मलाई तेस्रो समय खण्ड र राति १२ बजेदेखि बिहान ६ बजेसम्मलाई चौथो समय खण्ड गरेर सवारी दुर्घटनाको विष्लेषण गरेको थियो ।
सो विश्लेषणको आधारमा सबैभन्दा बढी साँझ ६ बजदेखि राति १२ बजेको बीचमा र दिउँसो १२ बजेदेखि साँझ ६ बजेको बीचमा बढी दुर्घटना भएको पाइएको छ ।
चितवन सवारी दुर्घटना