
समाजिक सञ्जालमा भाइरल भइरहेको यो दृश्य केवल एक समाचार मात्र होइन, मानवीय संवेदनशीलताको ज्वलन्त उदाहरण पनि हो । पत्रकारिता आफैंमा चुनौतीपूर्ण पेशा हो। आवाजविहीनको आवाज बन्ने क्रममा कहिलेकाहीँ जीवन जोखिममा पारेर पनि सत्य उजागर गर्नुपर्ने हुन्छ । तर विराटनगरमा देखिएको यो घटनाले प्रमाणित गरिदिएको छ – पत्रकारिता केवल कलम र क्यामेरामा सीमित छैन, यो मानवताको धर्मसँग पनि जोडिएको छ ।
करिब ५ लाखभन्दा बढी श्रद्धालुको सहभागिता रहेको विराटनगरको भव्य रथयात्रामा रिपोर्टिङ गरिरहेका पत्रकार सोनुकुमार दास अचानक अर्को भूमिकामा देखिए । भीडमा एक श्रद्धालु अचानकमै ढले, होस गुमाए र कुचिन सक्ने अवस्था सिर्जना भयो । त्यो क्षण, भीड तंग्रिँदै थियो तर दास अगाडि बढे । उनले न त पेशागत दायित्व सम्झिए, न त आफ्नै सुरक्षा – बरु ढलेका ती श्रद्धालुको जीवन बचाउने उद्धारकर्तामै परिणत भए ।
स्थानीय श्रद्धालुहरूको सहयोगमा दासले घाइतेलाई सम्हाल्दै अस्पताल पु¥याए। भिडियोमा उनी घाइतेलाई “कुनै समस्या छैन, अस्पताल आइसकेको छ” भन्दै स्याहार्दै गरेको देखिन्छ । घाइते भने खुट्टा र बेहोस अवस्थामा आत्तिएका देखिन्छन् । कहिले उनी कपाल स्याहर्दै, कहिले भीडलाई “साइड दिनुस” भन्दै चिच्याइरहेका दृश्यले हजारौं मानिसलाई भावुक बनाइरहेको छ ।
पत्रकार सोनुकुमार दासले रथयात्राको भीडमा देखाएको साहस र मानवताप्रतिको जिम्मेवारी पत्रकारिताको वास्तविक अर्थलाई अझ उजागर गरिदिएको छ ।
यो पहिलो घटना मात्र थिएन । यसअघि पनि अर्का एक श्रद्धालु भिडमै ढलेर छटपटाइरहेका बेला दासले हिन्दु सम्राट सेनाका स्वयम्सेवकसँगै मिलेर उनलाई आफ्नो काँधमा बोकी अस्पताल पु¥याएका थिए । हिन्दु सम्राट सेनाका स्वयमसेवकहरुले उनलाई एम्बुलेन्समा पु¥याउन खोजेका थिए र तत्कालै एम्बुलेन्स नभेटेकाले पत्रकार सोनुसहित सबैले स्वयम उनलाई उचालेर नजिकैको सप्तकोशी अस्पतालमा उपचार गराए ।
समाजले प्रायः पत्रकारलाई प्रश्नकर्ता, आलोचक वा समाचार वाहकका रूपमा मात्रै हेर्छ । तर, बिराटनगरको यो दृश्यले पत्रकारिताको अर्को अनुहार देखाएको छ – मानवता र संवेदनशीलता ।
पत्रकार सोनुकुमार दासले रथयात्रामा देखाएको साहस, करुणा र जिम्मेवारीले प्रष्ट पारिदिएको छ – संकट र भीडभाडबीच पनि पत्रकार केवल समाचारकै खोजीमा हुँदैन, कहिलेकाहीँ जीवनरक्षकका रूपमा पनि उभिन सक्छ ।